काठमाडौँ । यही फागुन १८ गतेदेखि मतदानको दिन (२१ गते)सम्म रात्रिकालीन व्यवसाय बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो ।
कार्यालयले जारी गरेको सूचना अनुसार राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन । ‘अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायीहरु बन्द गर्नरगराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जाननकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।
यस्तै, प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा संवेदनशिलतालाई दृष्टिगत गरी आगामी सोमबारदेखि कास्कीमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ः०० बजेसम्म मात्र होटल, रेष्टुराँ, दोहारी साँझ, क्लब, डान्स बार, मदिरा पसलगायत रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा सूचित गरेको हो ।
कार्यालयले जारी गरेको सूचनामा चुनावका अवधिमा सार्वजनिक शान्ति सुरक्षा र समाजिक सद्भाव कायम राख्न सम्बद्ध सबै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको छ ।
उक्त नियम कार्यान्वयन भए÷नभएकाबारे अनुगमन हुने र कसैले सूचनाको अवज्ञा गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ ।
कार्यालयले चुनावको सम्मुखमा परेको फागुपर्व पनि सार्वजनिकस्थलमा भीडभाड हुनेगरी नखेल्न अपिल गरेको छ ।
निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिकस्थलमा भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न कार्यालयले सूचित गरेको हो । फागुपर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको कार्यालयको सूचनामा उल्लेख छ । परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागुपर्व मनाउन कार्यालयले आग्रह गरेको छ ।

