काठमाडौँ । चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाहले पालिका प्रमुखलाई जानकारी नै नगराई लामो समयदेखि विदामा बस्दै आएको पाइएको छ ।
गत साउन २८ गते पालिकामा हाजिर भएका उनी त्यसपछि लामो समयसम्म विदामा बस्दा दैनिक सेवा प्रवाहमा नै समस्या भएको पालिकाका मेयर शमशेर लामा बताउँछन् ।
उनले लामो समयदेखि आफूलाई बिना जानकारी प्रशासकीय अधिकृत विदामा बसेको भन्दै मन्त्रालयलाई जानकारी गराएका छन् । उनले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उक्त कुरा जानकारी गराएका हुन् ।
‘यस राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह बिना जानकारी लामो समय कार्यालयमा उपस्थित नभएको तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा ७ दिनभन्दा बढी काज÷विदा लिन नगर प्रमुखको अनुमति लिनुपर्नेमा त्यसो नगरेको तथा कार्यालय प्रति गैर जिम्मेवारी रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ’, उनले मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ ।
भदौँको १६ गते नगर सभा सकेपछि प्रशासकीय अधिकृत पारिवारिक समस्या देखाउँदै विदामा बसेको पालिकाका कर्मचारीहरु बताउँछन् । भदौ १६ गतेदेखि बिदामा बसेका उनी भदौ ३० गते एक दिन पालिकामा उपस्थित भएपनि त्यसयता पुनः बिदामा बसेको पालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नै बिना जानकारी लामो समयदेखि विदामा बस्दा दैनिक सेवा प्रवाहमा नै समस्या भएको मेयर लामा बताउँछन् ।

