२०८३, आश्विन २१ गते

images
  • समाचार
  • धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि...

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक

बिहिवार, आश्विन ३ २०८१०८:२९
बिहिवार, आश्विन ३ २०८१०८:२९
  • images

    काठमाडौँ । सर्वसाधारणका लागि खुला गरिएपछि आज पहिलो दिन धरहरा चढ्नेहरुको भीड लागेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए ।

    सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए । 

    “अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै एक हजार दुई सय जानाले धरहरा चढेको आधिकारिक रेकर्ड छ”, उनले भने । 

    उनका अनुसार कतिपय मानिसहरु विना टिकटक नै धरहरा चढेका थिए । “आज अत्यधिक भिड भयो । भोलिदेखि व्यवस्थितरुपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौँ, उनले भने ।

    सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । 

    विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो । विसं २०७८ वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहराको समुद्घाटन भएको थियो । 

    धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ । 

    विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । 

    विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तलाबाट नौ तलामा सीमित भएको थियो । 

    त्यसैगरी विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । यसैगरी विसं २०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान सुरु गर्नुभएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend