काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको भौतिक निर्माण कार्य करिब ९४ प्रतिशत सकिएको छ। तर, प्रतिनिधिसभाको मुख्य हल प्राविधिक कारणले तत्काल सञ्चालन गर्न नसकिने भएपछि वैकल्पिक हलबाट पहिलो बैठक बस्ने तयारी भइरहेको छ।
सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक एवं विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक रोशन श्रेष्ठका अनुसार मुख्य हलमा फल्स सिलिङ र अडियो–भिडियो सिस्टम जडानको काम बाँकी भएकाले अर्को हल प्रयोग गर्न लागिएको हो।
“मुख्य हल धेरै अग्लो भएको र तीन तहको फल्स सिलिङ बनाउनुपर्ने जटिलताका कारण ‘स्काफोल्डिङ’ हटाउन समय लागेको छ। त्यसैले दुई–तीन दिनभित्र वैकल्पिक मल्टिपर्पोज हल तयार पारेर बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ,” उनले बताए।
संसद् भवनभित्रका अन्य संरचनाहरू फिनिसिङको चरणमा छन्। संसद सचिवालयका दुईवटा ब्लक तयार भइसकेका छन् भने फर्निचर राख्ने काम पनि सुरू भइसकेको छ। संसदीय दलका कार्यालयहरू र विभिन्न समितिका हल तयारी अवस्थामा छन्।
भीभीआईपी ब्लकको काम सम्पन्न हुन करिब एक हप्ता लाग्ने देखिएको छ भने सुरक्षा ब्लक सबैभन्दा अन्तिममा तयार हुने बताइएको छ। भवनको बाहिरी परिसरमा पार्किङ स्थल तयार भइसकेको छ र आगामी हप्ताभित्र पिचको काम सुरु हुनेछ।
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो भवन निर्माण ६ वर्ष पुगिसकेको छ। २०७६ असोज १६ गते ५ अर्ब ६७ करोड रुपैयाँमा सम्झौता भएको यो आयोजनाको लागत हाल ६ अर्ब २९ करोड पुगेको छ। कोरोना महामारी र प्राविधिक कारणले हालसम्म पाँच पटक म्याद थप भएको छ।
१५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा विभिन्न भवन निर्माण भइरहेका छन्। प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेनागृह, प्रेसरछपाइ भवन लगायतका संरचना निर्माण भइरहेका छन्।
यसैगरी ४५० वटा चारपाङ्ग्रे र ८०० वटा दुईपाङ्ग्रे सवारी राख्न सक्ने पार्किङ स्थल र सुरक्षाकर्मी भवनसमेत निर्माणाधीन छन्।
नेपालको गणतान्त्रिक इतिहासको केन्द्र बनेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब इतिहास बन्ने भएको छ। २०६४ सालको संविधानसभा, राजतन्त्र अन्त्य, २०७२ को संविधान जारी र संघीय संसद्को अभ्यासको साक्षी बनेको यो भवन अब नयाँ सिंहदरबार भवनमा सरेको छ।

