काठमाडौँ । शुक्रबार देखि आधा सिलिण्डर मात्रै ग्यास पाइने भएको छ । पछिल्लो केही समयदेखि नेपाली बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव हुन थालेपछि नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्रीको निर्णय गरेको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७।१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले बताए ।
भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन् ।

