काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ठूलो राहत हुनेगरी सरकारले आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू गरेको छ। यससँगै लामो समयदेखि लागू हुँदै आएको टोकन प्रणाली पूर्णरूपमा हटाइएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यसअघि दैनिक सीमित संख्यामा मात्र टोकनमार्फत श्रम स्वीकृति प्रदान गरिँदै आएको थियो, जसका कारण सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्था थियो।
अब भने आवश्यक कागजात पूरा गरी आवेदन दिएमा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ। यस निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको समय बचत हुनुका साथै सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
आइतबार श्रममन्त्री दिपक कुमार साहको उपस्थितिमा बसेको बैठकले श्रम क्षेत्र सुधारका विभिन्न निर्णयहरू गर्दै सेवा प्रवाहमा ढिलाइ गर्ने प्रक्रियाहरू हटाउने निष्कर्ष निकालेको थियो।
सरकारले चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने लक्ष्य राखिएको छ। सोही योजनाअनुसार श्रमिकको हकहित संरक्षण गर्दै सेवा प्रणालीलाई डिजिटल तथा छरितो बनाउने कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।

