काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालक तथा व्यवसायीलाई लक्षित गर्दै नयाँ ‘एक्साइड ई–राइड लिथियम–आयन ब्याट्री’ सार्वजनिक गरेको छ। कम्पनीले खर्च घटाउने, कार्यक्षमता बढाउने र आम्दानी सुधार गर्ने लक्ष्यसहित आधुनिक प्रविधिमा आधारित यो ब्याट्री बजारमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा नयाँ लिथियम–आयन ब्याट्री बढी टिकाउ, भरपर्दो र शक्तिशाली रहेको छ। यसले ई–रिक्सालाई थप आधुनिक, सुरक्षित र उच्च कार्यक्षमतायुक्त बनाउने विश्वास कम्पनीको छ।
यो ब्याट्री एआईएस–१५६ फेज–२ प्रमाणित रहेको कम्पनीले जनाएको छ। साथै, सर्ट सर्किट र पानीबाट जोगाउने आईपी–६७ रेटेड सुरक्षा प्रणालीसमेत यसमा जडान गरिएको छ। यहीसँगै कम्पनीले २५ एम्पियर क्षमताको आधुनिक एक्साइड चार्जर पनि उपलब्ध गराएको छ, जसमा २ वर्षको वारेन्टी दिइएको छ। उक्त चार्जरको सहायताले ब्याट्रीलाई करिब ३ देखि ४ घण्टामै फुल चार्ज गर्न सकिने बताइएको छ।
कम्पनीका अनुसार हलुका तौल र उच्च क्षमताका कारण यो ब्याट्रीले धेरै माइलेज दिनेछ भने लगातार समान पावर उपलब्ध गराउन पनि सहयोग पुर्याउनेछ। सामान्य लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्षसम्म मात्रै हुने भए पनि एक्साइडको यो नयाँ लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्न सक्ने क्षमता राख्ने दाबी गरिएको छ।
यस ब्याट्रीको अर्को विशेषता भनेको कम मर्मत खर्च हो। बारम्बार पानी थप्नुपर्ने झन्झट नहुने र मर्मत–सम्भारमा पनि कम खर्च लाग्ने भएकाले ई–रिक्सा व्यवसायीसँगै दैनिक प्रयोगकर्ताका लागि यो अत्यन्त उपयोगी विकल्प बन्न सक्ने कम्पनीको दाबी छ।
ग्राहकको विश्वास जित्न कम्पनीले ब्याट्रीमा ३६ महिनाको वारेन्टी पनि उपलब्ध गराएको छ। नेपालभर रहेका आधिकारिक एक्साइड डिलरमार्फत यो ब्याट्री तथा चार्जर सेट उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो नयाँ उत्पादनले ई–रिक्सा व्यवसायीलाई दीर्घकालीन बचत, उच्च कार्यक्षमता र भरपर्दो सेवा दिनेछ।
नेपालमा विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला एक्साइडको यो नयाँ उत्पादनले ई–रिक्सा बजारमा प्रतिस्पर्धा थप चर्काउने अनुमान गरिएको छ। विशेषगरी कम सञ्चालन खर्च, छिटो चार्ज, लामो आयु र उच्च सुरक्षा प्रणालीका कारण यो ब्याट्री ई–रिक्सा चालकका लागि आकर्षक विकल्प बन्न सक्ने देखिएको छ।

