२०८३, आश्विन २१ गते

images
  • समाचार
  • काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस...

काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस सेवा सुरु, २ रुटमा ४ विद्युतीय बस सञ्चालन हुने

काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस सेवा सुरु, २ रुटमा ४ विद्युतीय बस सञ्चालन हुने

बिहिवार, चैत्र १९ २०८२०१:३५
बिहिवार, चैत्र १९ २०८२०१:३५
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ।

    महानगरपालिकाका अनुसार प्रारम्भिक चरणमा दुई वटा रुटमा चार वटा विद्युतीय बस सञ्चालन गरिनेछ। उत्तर–दक्षिण दिशामा सञ्चालन हुने पहिलो रुट ललितपुरको लगनखेलदेखि बुढानीलकण्ठसम्म रहनेछ। उक्त रुटले पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्रलाई समेट्नेछ। यो रुटको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको छ।

    यस्तै, पूर्व–पश्चिम दिशामा सञ्चालन हुने दोस्रो रुट थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहनेछ। यो रुट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै सञ्चालन हुनेछ। यसको एकतर्फी दूरी करिब २० किलोमिटर रहेको महानगरपालिकाले जनाएको छ।

    महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार बेलुका ८ बजेपछि सार्वजनिक यातायातको अभावका कारण सर्वसाधारण महँगो यात्रा गर्न बाध्य हुने अवस्थालाई सुधार गर्न रात्रिकालीन सेवा सुरु गर्न लागिएको हो।

    उनले विशेषगरी महिला, किशोरी तथा विद्यार्थीहरूले राति यात्रा गर्दा भोग्नुपरेको समस्या समाधान गर्न यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। सेवा सुरु भएपछि बसहरू साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् भने प्रत्येक २० मिनेटको अन्तरालमा बस उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

    यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै बसहरूमा सिसिटिभी क्यामरा जडान गरिनेछ भने नगर प्रहरीको समेत व्यवस्था गरिने महानगरपालिकाले जनाएको छ।महानगरपालिकाले यस सेवालाई अत्याधुनिक, सुरक्षित, सहज र दिगो सार्वजनिक यातायात प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि अन्य साझेदारहरूसँग पनि सहकार्य गर्न खुला रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend