काठमाडौँ । इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पटक–पटक डिजेल र पेट्रोलको मूल्य बढाएपछि यातायात व्यवसाय सञ्चालनमा गम्भीर असर परेको जनाएको हो। विज्ञप्तिमा हालसम्म इन्धन मूल्यवृद्धि भए पनि भाडा समायोजन नगरिँदा व्यवसायीहरू आर्थिक संकटमा परेको उल्लेख गरिएको छ।
महासंघका अनुसार पछिल्ला मितिहरूमा डिजेल र पेट्रोलको मूल्य उल्लेखनीय रूपमा बढाइएको छ। तर, सोअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नभएकाले व्यवसायीहरूलाई दैनिक सञ्चालन गर्न समेत कठिनाइ भइरहेको बताइएको छ।
विज्ञप्तिमा वैज्ञानिक भाडा समायोजन प्रणाली लागू गर्नुपर्ने, विगतमा गरिएको भाडा निर्धारणको आधारमा पुनः समायोजन गर्नुपर्ने र यातायात क्षेत्रलाई दीर्घकालीन रूपमा स्थिर बनाउन नीति स्पष्ट गर्नुपर्ने माग गरिएको छ।
महासंघले भाडा समायोजन नगरेको अवस्थामा सेवा सञ्चालनमा समस्या आउन सक्ने चेतावनी समेत दिएको छ। साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिएको छ।
महासचिव टेकनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले इन्धन मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा वैज्ञानिक आधारमा समायोजन गर्न तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ।

