काठमाडौँ । देशभर हाल कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसकै कारण देशका विभिन्न भागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली भेगमा सामान्यदेखि आंशिक बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा अधिकांश स्थानमा मौसम सफा रहनेछ। यद्यपि, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
मौसममा आउने यस प्रकारको परिवर्तनले विशेषगरी हिमाली र पहाडी भेगमा यात्रा गर्ने सर्वसाधारण तथा सवारी साधन सञ्चालनकर्तालाई प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

