काठमाडौँ । सरकारले बिहीबार एकैपटक २५ सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका पाँच सहित २५ सहसचिवलाई विभिन्न कार्यालयमा सरुवा गरिएको हो ।
जसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएका प्रदीप परियारलाई सोही कार्यालयमा स्थायी रुपमै सरुवा गरिएको छ ।
प्रदेशमा जानेमध्ये मधेश र लुम्बिनीमा ५–५ जना, बागमतीमा ४ जना, कोशी र गण्डकीमा २–२ तथा कर्णाली र सुदूरपश्चिममा एक–एक जना पठाइएको छ ।
भट्टलाई सघाएको आरोपमा अर्थका ५ सहसचिवको सरुवा
बिचौलीया दीपक भट्टलाई सघाएको आरोपमा सरकारले अर्थमन्त्रालयका ५ सहसचिवको सरुवा गरेको हो । सम्पत्ति शुद्धीकरणको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई सहयोग गरेको भन्दै सरुवा गरेको जनाइएको छ ।
अर्थमन्त्रालय अन्तर्गतका सेवन्तक पोखरेल र महेश बराल मधेश प्रदेश पुगेका छन् भने महेश भट्टराई बागमती, मदन दाहाल सुदूरपश्चिम र सुशीला अर्याल लुम्बिनी प्रदेशमा सरुवा भएका छन् । यी मध्ये महेश भट्टराई र सेवन्तक पोखरेल आगामी आर्थिक वर्षको बजेट लेखन समितिमा रहेका थिए ।
दाहाल आन्तरिक राजश्व बिभागका महानिर्देशक हुन । पोखरेल, बराल, दाहालहरुले विभिन्न निकायमा बस्दा भट्ट र अग्रवालले अराए, लगाएको काम गरेको बताइन्छ । उनीहरुले गरेको काम देश, राज्यको प्रतिकुल रहेको भन्दै सरुवा गरिएको स्रोतको दाबी छ ।

