काठमाडौँ । सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। होटललाई ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले “नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६”, “नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६” र “नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६” बाट सम्मानित गरेको हो।
छोटो अवधिमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान पाउनु होटलका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। अवार्डले होटलका विश्वस्तरीय सुविधा, आकर्षक कार्यक्रम स्थल, अतिथि सेवा र व्यवस्थापकीय नेतृत्वलाई मान्यता दिएको होटलले जनाएको छ।
हायात प्लेस बुटवलले सञ्चालनको सुरुवातदेखि नै अन्तर्राष्ट्रिय मापदण्ड र स्थानीय आतिथ्यताको संयोजनमार्फत बुटवलको हस्पिटालिटी क्षेत्रलाई नयाँ पहिचान दिने प्रयास गरिरहेको छ। विशेषगरी ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’ अवार्डले होटलको ब्यांक्वेट सुविधा र विवाह समारोह व्यवस्थापनमा देखिएको व्यावसायिक क्षमतालाई उजागर गरेको छ।
त्यस्तै, ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ होटलका महाप्रबन्धक तुषार नागरलाई प्रदान गरिएको छ। नागरले छोटो समयमै तीनवटा अवार्ड प्राप्त गर्नु सम्पूर्ण टोलीको मेहनत, समर्पण र अतिथि सेवाप्रतिको प्रतिबद्धताको परिणाम भएको बताए।
“सञ्चालनमा आएको छोटो ६ महिनामै २०२६ का लागि यी तीन प्रतिष्ठित अवार्ड प्राप्त गर्दा हामी निकै सम्मानित र कृतज्ञ छौँ,” नागरले भने, “यो हाम्रो सम्पूर्ण टोलीले हरेक दिन देखाउने जोश, समर्पण र वास्तविक आतिथ्यताको उच्च सम्मान हो।”
उनका अनुसार होटलको स्पष्ट लक्ष्य बुटवलको आतिथ्य अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो। “नेपालकै उत्कृष्ट होटल र उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्युका रूपमा सम्मानित हुनु तथा महाप्रबन्धक अवार्ड प्राप्त गर्नुले अझ उत्कृष्ट सेवा दिन ऊर्जा थपेको छ,” उनले भने।
बुटवलको मुटुमा अवस्थित हायात प्लेस बुटवलले आधुनिक सुविधा, उत्कृष्ट डाइनिङ अनुभव र विभिन्न कार्यक्रमका लागि बहुउद्देश्यीय स्थान उपलब्ध गराउँदै आएको छ। व्यापारिक तथा फुर्सदमा भ्रमण गर्ने दुवै प्रकारका यात्रीलाई लक्षित होटलले स्वदेशी तथा विदेशी अतिथिलाई उच्चस्तरीय सेवा र आरामदायी अनुभव प्रदान गर्ने जनाएको छ।

