काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा पाँच जना आरोही तथा पथप्रदर्शकको मृत्यु भएको भन्दै पर्यटन विभागले दुःख व्यक्त गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सगरमाथा र मकालु हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोही तथा गाइडप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो।
विभागका अनुसार मृत्यु हुनेमा तीन जना नेपाली पथप्रदर्शक (माउन्टेन गाइड) र दुई जना विदेशी आरोही रहेका छन्।
मृत्यु हुने नेपाली गाइडहरूमा सोलुखुम्बुको सोताङ गाउँपालिका–४ का लाक्पा डेन्डी शेर्पा, सोलुखुम्बुकै सोलुदूधकुण्ड नगरपालिका–७ का विजय घिमिरे तथा पासाङल्हामु गाउँपालिका–५ का फुरा गेल्जेन शेर्पा रहेका छन्।
त्यस्तै विदेशी आरोहीमा चेक गणतन्त्रका डेभिड रोबिनेक र अमेरिकाकी जोहानसेन शेली रहेका छन्।
विभागका अनुसार लाक्पा डेन्डी शेर्पाको सगरमाथा आधार शिविर नजिक, विजय घिमिरेको सगरमाथास्थित खुम्बु आइसफल क्षेत्रमा तथा फुरा गेल्जेन शेर्पाको सगरमाथाको तेस्रो शिविर क्षेत्रमा मृत्यु भएको हो।
त्यसैगरी डेभिड रोबिनेक र जोहानसेन शेलीको मकालु हिमाल आरोहणका क्रममा क्रमशः मकालु–३ र मकालु–१ क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ।
पर्यटन विभागले विज्ञप्तिमार्फत दिवंगत आरोही तथा गाइडप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ।

