काठमाडौँ । ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर २५ मा पर्ने नख्खु खोलाको बीचमा रहेको जस्ताको टहरोमा केही मानिस फसेको भिडियो शनिबार विहानैदेखि भाइरल भयो ।
स्थानीयका अनुसार २०३८ सालपछि पहिलोपटक असोज १० गते बेलुकादेखि परिरहेको अविरल वर्षाले नख्खुखोलामा भीषण बाढी आएको थियो।
खोला यति ठूलो थियो कि वारीपारीका सबै किनार कटान गरिसकेको थियो । पुल भत्काउँदै आएको बाढी निकै रिसाएको देखिन्थ्यो।
हो, त्यही बाढीले एउटा टहरोलाई पनि निसाना बनाएको र त्यहाँ रहेका चारजना फसेको भिडियोमा दखिन्थ्यो।
भिडियो देखेका केही मानिसले प्रहरीलाई फोन गरेर मानिस फसेको जानकारी दिए। तत्काल प्रहरी प’यो।
प्रहरीले आफूसँग रहेको सबै उपाय अपनायो । तर, फसेकाको उद्दार हुन सकेन। यतिसम्मकि, प्रहरीले खोलाको बीचमा अड्केका निकाल्न डोरी पठाउँछ।
दुुइतिनपटक प्रयास गरेकै बेला टहरोको छानो खस्छ र मानिस उर्लदो भेलमा बग्छन्।
अनि उर्लदोँ भेलमा हामफाले ३६ वर्षे चनिकलाल
नख्खु खोला हेर्न श्रीमती र छोरी लिएर निस्केका चनिलालले उर्लँदो नख्खुमा हाम फालेर २ जनाको ज्यान जोगाए। विहान ८ बजेतिर दुइजनाको सकुशल उद्दार गर्ने साहसी व्यक्ति हुन् काभ्रे तेमाल गाउँपालिकाका तामाङ ।
३६ वर्षे उनले वारपार भएको खोलामा हेलिएर एक बच्चा र एक पुरुषको ज्यान जोगाउन सफल भएका हुन् । श्रीमती उर्लिमाया स्याङतानले भनेपछि बग्दै गरेको मान्छे समात्न खोलामा हाम फालेको उनले बताए ।
‘खोला हेर्न भनेर श्रीमती र छोरी लिएर त्यहाँ पुुगेको थिए’, उनले सिएनएन खबरसँग भने, ‘श्रीमतीले खोलामा मान्छे बग्यो भनेर हाम्रै भाषामा मलाई भनेपछि यसो हेरे, अनि लुगैसहित फाल हाने ।’
पाैडिएर दोस्रो झड्कामा एकजनालाई भेट्न सफल भएको उनले सुनाए ।
‘च्याप्प समाउँदा त उनले एउटा बच्चालाई बेस्सरी च्यापेका थिए’, तामाङले थपे, ‘४ मिनेटभित्र बोकेर बाहिर ल्याए। अनि किनारामा बसेका मानिसहरुले पेटमा थिचेर बच्चीको पानी निकाल्नुभयो।’
२ वर्ष वैदेशिक रोजगारीका लागि संयुक्त अरव इमिरेट्स युएइ बसेर नेपाल फर्किएका उनी अहिले रंग लगाउने पेशा गरिरहेका छन्।
‘पाँच महिनादेखि ललितपुरको महानगरपालिका वडा नम्बर २५ को सुुगम बस्तीमा बसिरहेको छु । खासमा नख्खु खोला भेलमा हामफाल्ने साहस आउनुको मुख्य कारण मैले सुनकोशी मै पौडी सिकेकाे थिए,’चनिकलालले भन ।
प्रहरीले सकेन, मैले २ जना बचाएँ
तामाङले दुईजनाको ज्यान बचाउन पाएको बताए।
‘खोलाले टहरासहित चार जनालाई बगाएको रहेछ, दुइजना मैले बचाए, एकजना अलि तलबाट आँफै निस्कनुभयो कि कसले निकाल्यो तीनजना बच्नभयो’, उनले भने ।
३ जनालाई अहिले पाटन अस्पतालमा उपचार गरिएको छ भने १ जना वेपत्ता छन् । वेपत्ता भएकी चार पाँच वर्षकी एक बालिका हुन्।
नख्खुखोला हाम्रो प्रशासकिन केन्द्र सिंहदरबारबाट ६ किलोमिटर दुरीमा पर्छ। एकघण्टासम्म गुहार माग्दा पनि खोलाबीचमा फसेका चारजनाको उद्दार हुन सकेन र उनीहरु खोलामा बग्न पुगे।
त्यसमध्ये एकजना अझै वेपत्ता छिन्। उद्दार भएका वर्षीय मेघ्ना साह, राज साह र राजु साह अहिले पाटन अस्पतालमा उपचाररत छन्। उनीहरुको स्वास्थ्यअवस्था सुधारोन्मुख छ।
सरकारले सबै संयन्त्र प्रयोग गर्नसक्ने भएपनि उद्दारमा प्रहरीको मात्र भर परेको देखिन्छ। तर, अत्याधुनिक प्रविधि नहुँदा प्रहरीले उर्लँदो खोलाभित्र पस्ने हिम्मत गर्नै सकेन।
प्रहरीले समयमै उनीहरुको उद्दार गर्न नसकेर बगाएको भन्दै सरकारको आलोचना हुँदा चनिकलाल तामाङले सबैतिरबाट स्याबास पाइरहेका छन् । उनलाई देशविदेशबाट फोन गरेर राम्रो कामकोे लागि स्यालुट गरेका छन्।

