काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित वडाअध्यक्ष र वडा सचिवलाई नियन्त्रणमा लिएको छ ।
आयोगले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २४ का वडाअध्यक्ष उपेन्द्र सहनी, वडा सचिव (शाखा अधिकृत) उपेन्द्र साह तेली र अर्को व्यक्ति विजय मण्डललाई साढे ४ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
वडा अध्यक्षको योजनामा घर बाटो प्रमाणितका लागि सेवाग्राहीसँग उक्त रकम माग गरिएको अख्तियारले जनाएको छ । वडाअध्यक्षले उक्त रकम माग गरेको भन्दै उजुरीका आधारमा अख्तियारको टोलीले अनुगमन गर्दा घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको सूचनामा उल्लेख छ ।
उनीहरु तीनै जना विरुद्ध उक्त रकम मागदबी गर्दै आयोगले सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यास बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

