काठमाडौँ । एसपीजी अटोमोबाइल्सले अमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले आइतबार काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नेपाली बजारमा ओमोडाको नयाँ भर्सन भित्रिएको सार्वजनिक गरेको हो ।
सुरक्षाका दृष्टिले यसमा ७ वटा एयरब्याग तथा १९ वटा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) फिचर उपलब्ध छन्। त्यस्तै १५.६ इन्चको ठूलो टचस्क्रिन, प्रिमियम सोनी साउन्ड सिस्टम, ५० वाटको फास्ट वायरलेस चार्जर लगायतका सुविधाले यात्रालाई थप सहज र आरामदायी बनाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ओमोडा ई–५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार रुपैयाँ तथा डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर प्रारम्भिक ग्राहकका लागि (पहिलो ५० ग्राहक) विशेष अफर अन्तर्गत ४९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ।
यससँगै कम्पनीले एक वर्षको निःशुल्क बीमा सुविधा पनि प्रदान गर्ने घोषणा गरेको छ। आठ आकर्षक रंगमा उपलब्ध ओमोडा ई–५ प्रोले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ प्रतिस्पर्धा र उत्साह सिर्जना गर्ने अपेक्षा कम्पनीको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले ओमोडा ई–५ प्रोले नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले वातावरणमैत्री र दिगो यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो गाडी नेपाली बजारमा ल्याइएको बताए।
एसपीजी अटोमोबाइल्सका उपाध्यक्ष रूपेश शर्मा भट्टका अनुसार ओमोडा ई–५ प्रोमा ५१।६ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्ज गर्दा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्दछ। गाडीले युरोपेली नयाँ कार मूल्याङ्कन कार्यक्रम (एनसीएपी) अन्तर्गत ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीको दाबी छ।

