काठमाडौं । नेपाल अटोमोबाइल व्यवसायको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ। अटोमोबाइल क्षेत्रको छाता संस्था NADA Automobiles Association of Nepal (नाडा) ले प्रदर्शनीको १८औँ संस्करणका लागि स्टल बुकिङसमेत खुला गरेको जनाएको छ।
नाडाका अनुसार अटो शोका लागि स्टल बुकिङ जेठ १८ गतेदेखि २६ गतेसम्म खुला रहनेछ। प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा प्रदायक तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ।
हरेक वर्षझैँ यसपटक पनि नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योग व्यवसायलाई आफ्ना नवीनतम उत्पादन, अत्याधुनिक प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा हजारौं सर्वसाधारण आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नीति निर्माता र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको छ। अटोमोबाइल क्षेत्रका नयाँ प्रविधि, विद्युतीय सवारीसाधन (ईभी), वित्तीय योजना तथा नवीन सेवाहरूको प्रदर्शन यस वर्षको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।
नाडाले स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरण व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने जनाएको छ। साथै इच्छुक कम्पनी तथा संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको हिस्सा बन्न आग्रह गरिएको छ।
नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, उत्पादन र लगानी अवसरहरूको प्रदर्शन गर्ने प्रमुख मञ्चका रूपमा स्थापित नाडा अटो शोले व्यवसायिक नेटवर्क विस्तार, बजार प्रवर्द्धन तथा उपभोक्तालाई नवीनतम अटोमोबाइल प्रविधिसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

