काठमाडौं । संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको हो।
मंगलबार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ। समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ।
त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि समितिले भनेको छ। त्यस्तै सडकको पहुँच नपुगेका जिल्लाहरुमा हवाइ यातायातको व्यवस्थापन गर्न तथा खाद्यान्न, तरकारी, फलफूल आदि सम्पूर्णको मूल्य बढ्न नदिन समितिको निर्देशन रहेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिए।
समितिले बजारमा तरकारी, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको भन्दै बजार अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

