काठमाडौँ । वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनोटिकल सोसाइटी अफ नेपालबीच नेपालको उड्डयन क्षेत्रलाई थप सुरक्षित, दिगो, प्रतिस्पर्धी तथा भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यका साथ सहकार्य सम्झौता (एमओयू) सम्पन्न भएको छ।
सोमबार जारी प्रेस विज्ञप्तिअनुसार असार १ गते सम्पन्न उक्त सम्झौताले नेपालको उड्डयन क्षेत्रको क्षमता विकास, प्राविधिक दक्षता अभिवृद्धि, नवप्रवर्तन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
आयोनले सन् २०५५ मा स्थापना भएयता नेपालको उड्डयन उद्योगको प्रतिनिधिमूलक संस्थाका रूपमा काम गर्दै आएको छ भने एईएसएनले प्राविधिक ज्ञान, अनुसन्धान र व्यावसायिक विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। यी दुई संस्थाबीचको सहकार्यले उड्डयन क्षेत्रको समग्र विकास र सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।
सम्झौताअनुसार उड्डयन क्षेत्रको नेतृत्व विकास, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थी तथा युवा पेशाकर्मीको विकास, सुरक्षा संस्कृति ९सेफ्टी कल्चर० को प्रवर्द्धन, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गरिनेछ।
त्यसैगरी, डिजिटल प्रविधि, डाटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता ९एआई० लगायत आधुनिक प्रविधिको प्रयोग विस्तार, उद्योग र शैक्षिक संस्थाबीच सहकार्य सुदृढीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार र कार्यशाला आयोजना तथा नीतिगत संवाद कार्यक्रम सञ्चालनमा समेत दुवै संस्थाले संयुक्त रूपमा काम गर्ने भएका छन्।
आयोनका अध्यक्ष प्रतापबाबु पाण्डेले उक्त सहकार्यले नेपालको उड्डयन क्षेत्रलाई थप एकीकृत, सुरक्षित र प्रतिस्पर्धी बनाउँदै भविष्यका अवसर र चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, उड्डयन क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालालाई यस अभियानमा सहभागी हुन पनि उनले आह्वान गरेका छन्।
उक्त सम्झौतालाई नेपालको उड्डयन क्षेत्रको दीर्घकालीन विकास, प्राविधिक सुदृढीकरण तथा विश्वस्तरीय जनशक्ति उत्पादनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

