२०८३, आश्विन २१ गते

images
  • समाचार
  • राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय...

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय संरक्षण विज्ञ सदस्यमा मनोनित

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय संरक्षण विज्ञ सदस्यमा मनोनित

मंगलवार, आषाढ १६ २०८३१०:३७
मंगलवार, आषाढ १६ २०८३१०:३७
  • images

    काठमाडौँ । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सञ्चालक समितिमा संरक्षण तथा वातावरण क्षेत्रका तीन अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सदस्यमा मनोनयन गरेको छ।

    कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कोषको ऐनबमोजिम बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षण वैज्ञानिक डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्रा. डा. विन्डी राइटलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गर्नुभएको हो।

    मन्त्रालयका अनुसार कोषको अन्तर्राष्ट्रिय साख अभिवृद्धि, वैज्ञानिक संरक्षणलाई सुदृढ बनाउने तथा विश्वस्तरीय अनुभवलाई नेपालको संरक्षण अभियानसँग जोड्ने उद्देश्यले उनीहरूलाई मनोनयन गरिएको हो।

    बेलायतको यूके–नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका लर्ड क्यामोस विलियम स्टोनर नेपालको संरक्षण तथा परोपकारी गतिविधिसँग लामो समयदेखि आबद्ध रहँदै आउनुभएको छ। उहाँको परिवारको नेपालसँग ऐतिहासिक कूटनीतिक सम्बन्ध रहेको उल्लेख गरिएको छ।

    यस्तै, डा. एरिक डाइनरस्टाइन विश्व वन्यजन्तु संरक्षण क्षेत्रका चर्चित वैज्ञानिक हुन्। उहाँले सन् १९७० र ८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडा र पाटेबाघको बासस्थानसम्बन्धी प्रारम्भिक अनुसन्धानमा योगदान दिनुभएको थियो। विश्व वन्यजन्तु कोष (WWF) मा करिब २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा कार्यरत रहँदा उहाँले ‘तराई आर्क ल्यान्डस्केप’ अवधारणाको विकासमा समेत नेतृत्व गर्नुभएको थियो।

    अस्ट्रेलियाको फेडरेसन विश्वविद्यालयकी डिन प्रा. डा. विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण, मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका क्षेत्रमा अनुसन्धान र प्राज्ञिक सहकार्य गर्दै आउनुभएको छ।

    प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री चौधरीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी दिएपछि मन्त्री चौधरीले कोषको संस्थागत गरिमा पुनः स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा यसको भूमिका थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विश्वप्रसिद्ध वैज्ञानिक, प्राज्ञिक तथा संरक्षण क्षेत्रका अनुभवी व्यक्तित्वलाई कोषसँग आबद्ध गराई नेपालको संरक्षण अभियानलाई आधुनिक प्रविधि, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यसँग जोड्ने लक्ष्य रहेको बताउनुभएको छ।

    मन्त्री चौधरीले कोषको कर्मचारी प्रशासनसम्बन्धी विनियमावलीसमेत चाँडै संशोधन गरिने जानकारी दिँदै सदस्य नियुक्तिमा राजनीतिकभन्दा योग्य, स्थापित र अन्तर्राष्ट्रिय पहिचान भएका व्यक्तित्वलाई प्राथमिकता दिने नीति अवलम्बन गरिएको बताउनुभयो।

    चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा समुदायमा आधारित संरक्षण, जैविक विविधता संरक्षण तथा वन्यजन्तु व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend