काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले यात्रुसँग लिने इन्धन शुल्क पनि घटाएका छन्।
एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (एओएएन) ले निगमको नयाँ मूल्यअनुसार फ्युल सरचार्ज पुनः निर्धारण गरेको हो। संशोधित शुल्क बिहीबारदेखि लागू भएको छ।
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानका यात्रुले टिकटमा तिर्नुपर्ने इन्धन शुल्क पनि घटेको छ। एओएएनले सार्वजनिक गरेको नयाँ दरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भने समावेश गरिएको छैन।
नयाँ व्यवस्थाअनुसार काठमाडौं–धनगढी उडानमा सबैभन्दा धेरै एक हजार ५६५ रुपैयाँले इन्धन शुल्क घटाएर ८ हजार ९५५ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–सुर्खेतमा एक हजार २२० रुपैयाँ घटेर ७ हजार ५ रुपैयाँ, काठमाडौं–माउन्टेन (एभरेष्ट अनुभव उडान) मा एक हजार २१५ रुपैयाँ घटेर ६ हजार ९५५ रुपैयाँ तथा काठमाडौं–नेपालगञ्जमा एक हजार १५५ रुपैयाँ घटेर ६ हजार ६०५ रुपैयाँ कायम गरिएको छ।
यस्तै काठमाडौं–भद्रपुर उडानको इन्धन शुल्क एक हजार ६५ रुपैयाँले घटेर ६ हजार ८५ रुपैयाँ पुगेको छ। काठमाडौं–विराटनगरमा ८५० रुपैयाँ घटेर ४ हजार ८६५ रुपैयाँ, पोखरा–नेपालगञ्जमा ८४० रुपैयाँ घटेर ४ हजार ८०५ रुपैयाँ, काठमाडौं–भैरहवामा ७३० रुपैयाँ घटेर ४ हजार १७० रुपैयाँ तथा काठमाडौं–राजविराजमा ७२५ रुपैयाँ घटेर ४ हजार १४५ रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी काठमाडौं–तुम्लिङटार उडानमा ६५० रुपैयाँ घटेर ३ हजार ७४० रुपैयाँ, काठमाडौं–पोखरामा ५६० रुपैयाँ घटेर ३ हजार २१५ रुपैयाँ, काठमाडौं–जनकपुर र पोखरा–भैरहवा उडानमा समान ४५५ रुपैयाँले शुल्क घटाइएको छ।
पोखरा–भरतपुर उडानमा ३९५ रुपैयाँ घटेर २ हजार २५० रुपैयाँ, काठमाडौं–भरतपुरमा ३८० रुपैयाँ घटेर २ हजार १७० रुपैयाँ तथा काठमाडौं–सिमरामा ३२० रुपैयाँ घटेर एक हजार ८२५ रुपैयाँ कायम गरिएको एओएएनले जनाएको छ।
विदेशी मुद्रामा टिकट खरिद गर्ने यात्रुका लागि अमेरिकी डलरमा निर्धारण गरिएको इन्धन शुल्क पनि सोही अनुपातमा घटाइएको छ। काठमाडौं–धनगढी उडानमा सबैभन्दा बढी १५ अमेरिकी डलरले शुल्क घटाइएको छ भने अन्य गन्तव्यमा दूरीअनुसार ३ देखि १२ अमेरिकी डलरसम्म इन्धन शुल्कमा कटौती गरिएको छ।

