काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी–३२५), नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पण ले रक्तदान, ट्राफिक स्वयंसेवा लगायतका सामाजिक सेवामूलक कार्यक्रम आयोजना गर्दै लायन्स वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ गरेको छ।
नवनिर्वाचित अध्यक्ष लायन दीपक कुमार अग्रवाल को नेतृत्वमा सम्पन्न कार्यक्रम क्लबको यस वर्षको मूल नारा ‘Caring by Sharing’ लाई केन्द्रमा राखेर सञ्चालन गरिएको हो।
शुभारम्भका अवसरमा नक्सालस्थित ब्लु स्क्वायर मा YAMAHA र MAW Foundation को सहकार्यमा आयोजित वृहत् रक्तदान कार्यक्रममा क्लबका सदस्य, स्वयंसेवक तथा शुभेच्छुक गरी एक सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको क्लबले जनाएको छ। संकलित रगतले अस्पतालहरूमा हुने रगत अभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसअघि बिहान क्लबले विद्यार्थीहरूको सक्रिय सहभागितामा ट्राफिक स्वयंसेवा कार्यक्रम पनि सञ्चालन गरेको थियो। सो कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुका साथै सडक सुरक्षा, अनुशासन र नागरिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले ‘Caring by Sharing’ केवल नारामात्र नभई क्लबको सेवाप्रतिको प्रतिबद्धता भएको उल्लेख गरे। समाजलाई केही फर्काउने सानो प्रयासले पनि धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भन्दै रक्तदान र ट्राफिक स्वयंसेवा त्यसैको उदाहरण भएको उनले बताए।
क्लबका अनुसार कार्यक्रममा सदस्यहरूको उत्साहजनक सहभागिताले समाजप्रति लायन्सको सेवाभाव, नेतृत्व क्षमता र सामूहिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको छ।
लायन्स क्लब अफ काठमाडौं समर्पणले रक्तदाता, स्वयंसेवक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने YAMAHA, MAW Foundation लगायत सबै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।
क्लबले नयाँ लायन्स वर्षमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा मानवीय सेवाका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत जनाएको छ।

