२०८३, आश्विन २१ गते

images

आठ वर्षसम्म कमाउ कार्यालयमा रंगिला खरिदार

आठ वर्षसम्म कमाउ कार्यालयमा रंगिला खरिदार

शुक्रवार, आश्विन १८ २०८१०३:२६
शुक्रवार, आश्विन १८ २०८१०३:२६
  • images

    काठमाडौँ । मालपोत कार्यालय डिल्लिबजारका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीको ८ महिनामै सरुवा भएको छ । गत पुसमा सो कार्यालयको प्रमुखका रुपमा कार्यभार सम्हालेका उनलाई असोज लाग्नासाथ मन्त्रालयले सरुवा गरी अछाम पठाउने निर्णय गर्यो । 

    उनको सरुवा किन भयो न उनले बुझेका छन् न त हटाउने मन्त्रालयले नै प्रष्ट्याएको छ । कमाउ मानिएका फाँटहरुमा रोजीरोजी बस्ने र अकुत कमाउने दिपेश सुवेदी नाम गरेका कर्मचारी भने विगत ८ वर्षदेखि मापोका डिल्लिबजारमै कार्यरत छन् । दिपेशको पद खरिदार मात्र भएपनि उनलाई न निसेनिको २ वर्षे सरुवा प्रावधानले छुन्छ न नयाँनयाँ सरकारका मन्त्री र मन्त्रालयमा फेरिइरहने सचिवले छुन सक्छन् । उल्टै उनी नै कार्यालय प्रमुखलाई समेत राख्न र हटाउन सक्ने हैसियत भएका कर्मचारीका रुपमा चिनिन्छन् । 

    एउटा सहायक स्तरको कर्मचारीको यस्तो हैसियत कसरी बन्छ ? उनलाई ८ वर्षदेखि कहिले मुद्दा त कहिले रजिष्ट्रेसन फाँटमा मात्र देख्ने जो कोही छक्क पर्छन् । दरबारको हुकुम प्रमांंगीबाट जागिरे बनेका उनी राजप्रासाद सेवाका कर्मचारी समायोजन भएर निजामती बनेका हुन् । भूमी व्यवस्थापन विभागदेखि तालुकवाला मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयसम्मका भ्रष्ट कर्मचारी हाकिमहरुलाई नियमित रिझाउने उनलाई हल्लाउन सक्ने कोही छैन । 

    तुलनात्मक रुपले इमान्दार र कर्तव्यनिष्ट मानिएका मालपोत प्रमुख छविलाल ८ महिनामै खेदिनुपर्ने तथा राजश्व मारेर र सेवाग्राहीहरुलाई हैरानी दिएर मनमाफिक अतिरिक्त कमाई गर्ने दिपेशहरु ८ वर्षसम्म एउटै कार्यालयमा रजाईं गरिरहने दृश्य निजामती प्रशासनको खास विशेषता बनेको छ । जो मन्त्री, सचिव वा महानिर्देशक र कार्यालय प्रमुख भएर आएपनि सहजै ८ वर्षसम्म डिल्लिबजार मापोकामा मस्तीमा रहनसक्ने उनको विशेष क्षमता भनेकै राजश्व मारेर र सेवाग्राहीलाई मुर्ख बनाएर अकुत कमाउनसक्नु र तलदेखि माथिसम्म चढाउन सक्नु नै भएको अरु कर्मचारी बताउँछन् । 

    डिल्लिबजार मापोकामा मनमाफिक कमाउने भएपछि उनमा रंगीला स्वभावले पनि घर गरेको भूमीसुधार विभाग श्रोतले उल्लेख गरेको छ । छानीछानी कमाउ फाँटमा बस्ने दिपेश अहिले सबैभन्दा आकर्षक मानिएको रजिष्ट्रेशन फाँट ख मा बसेका छन् । यो फाँट अन्तर्गत नगर २, ९, ३५, २९ र गोंगबु लगायत क्षेत्र पर्दछन् । 

    यी स्थानका घरजगा किनबेच, नामसारी आदि कार्य गर्दा दिपेशले प्रति कारोबार राजश्व मिलाइदिएवापत मात्र लाखौं असुल्ने गर्दछन् । दिपेशले सेवाग्राहीसँग पैसा दलाली गर्नेदेखि उठाउनेसम्मको गिरोह नै खडा गरेका छन् । उनकै फाँटका नासु उदयनारायण सिग्देलले सेवाग्राहीसँग दलाली गरी सकेसम्म बढी असुल्ने वातावरण बनाउने र नगद भने दिपेशले बुझ्ने गरेका बुझिएको छ । दिपेशले ८ वर्षको अवधिमा आधा दर्जन बढी कार्यालय प्रमुख फटाएका छन् । 

    यसैगरी नासु होमनाथ सिग्देल अर्का अकुत कमाउने कर्मचारीमा दरिन्छन् । उनी पनि ६ वर्षदेखि मापोका डिल्लिबजारमा कमाउ धन्दामा छन् । रजिष्ट्रेशन घ मा रहेका उनी र सोही फाटमा रहेकी अर्की नासु शान्ति शाह पनि ५ वर्षदेखि सरुवा भएकी छैनन् । 

    यिनीहरुको कमाई र लगातार आकर्षक कार्यालयमा बसिरहेकोप्रति सहकर्मीहरु पनि चकित पर्ने गरेका छन् । मुद्दा शाखामा रहेका पोषण राज केसी पनि ४ वर्षदेखि त्यहीं कार्यरत छन् । लक्ष्मी नारायण निरौला पनि ६ वर्षदेखि पालैपालो रजिष्ट्रेशन र मुद्दा शाखामै रमाईरहेका छन् । 

    कलंकी र डिल्लिबजार मापोकामा पालैपालौ घुमी जागिर खाने उदयले बोडेमा घर बनाएर अर्को घडेरी पनि जोडका छन् । विभाग र मन्त्रालयका हाकिमहरुलाई रिझाएर ४ वर्षदेखि खरिदार तुलसी भण्डारीपनि डिल्लिबजारमै रमाइरहेका छन् । नासु बज्रवाहन पोखरेल समेत ४ वर्षदेखि निसेनिको प्रावधान विपरित विभागदेखि मन्त्रालयका प्रशासनका कर्मचारीहरुलाई कोसेलीपात पुर्याएर त्यहीं कार्यरत रहेका पाइएको छ । 

    अकुत कमाएर बांड्न खप्पिस दिपेशदेखि बज्रवाहनहरु वर्षौंदेखि डिल्लिबजारमै रमाइरहेकै बेला खुरुखुरु सेवाग्राहीको काम गरिदिने नासु राजेन्द्र पोखरेललाई भने ७ महिनामै सरुवा गरी गृहतिर ठेलिएको छ । उनको जागिर अवधि १ वर्षमात्र बाँकि रहेको छ । 

    निसेनिले २ वर्षभन्दा कम सेवाअवधि बाँकि रहेका कर्मचारीको उनकै इच्छाबेगर सरुवा नगर्ने मापदण्ड लागु गरेको भएपनि शुभलाभ नपुर्याउने राजेन्द्र जस्ता कर्मचारीका हकमा भने निसेनिलाई विभाग र मन्त्रालयले धोती लगाउने गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend