काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएका नेपालीको शव परिवारले अझै नबुझेपछि सुरक्षित राख्न राति करिब १० बजे शिक्षण अस्पताल पठाइएको हो।
वीर अस्पतालका सूचना अधिकारी प्रकाश बुढाथोकीका अनुसार अस्पतालमा शव सुरक्षित राख्ने मर्चरी चेन (रेफ्रिजेरेटेड शवगृह) नभएकाले शव शिक्षण अस्पतालमा सारिएको हो। सरकार र मृतकका आफन्तबीच सहमति हुन नसकेकाले शव तत्काल परिवारलाई जिम्मा लगाउन सम्भव नभएको उनले बताए।
यसैबीच, सरकारले शुक्रबार मृतकका आफन्तसँग अनौपचारिक वार्ता गरेको भए पनि कुनै निष्कर्ष निस्कन सकेन। आज पुनः वार्ता गर्ने तयारी भइरहेको जनाइएको छ।
मृतकका आफन्तले सरकारी निकायको ज्यादतीका कारण गणेश नेपालीले आत्मदाह गर्न बाध्य भएको आरोप लगाउँदै आन्दोलन सुरु गरेका छन्। गणेशले बिहीबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग भएको विवादपछि त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए। उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

