२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ललितपुर प्रशासनलाई गृहमन्त्रीको निर्देशनः हेलिकप्टर प्रयोग...

ललितपुर प्रशासनलाई गृहमन्त्रीको निर्देशनः हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्नुस्

ललितपुर प्रशासनलाई गृहमन्त्रीको निर्देशनः हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्नुस्

आइतवार, आश्विन २० २०८१०४:५७
आइतवार, आश्विन २० २०८१०४:५७
  • images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिएका हुन् । 

    ‘विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने रु दुई लाख राहत ३९ जनाले पाउनुभएको छ’, उनले भने, ‘बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ ।’

    नागरिकले खुला आकास मुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था नआउने बताए ।

    ‘एकद्वार प्रणालीबाट राहात वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्’, गृहमन्त्रीले भने ।

    उनले अहिलेको संविधान कानुनले चार तहको संरचना तय गरेको भन्नुहुँदै चारवटै विपद् व्यवस्थापनका संयन्त्रहरु जोडिएर मिलेर काम गर्नुपर्छ भन्नेमा जोड दिए ।

    ‘विपद्मा सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै तहको विपद् व्यवस्थापन समिति मिलेर काम गर्नुपर्छ, मानिसको आवागमन खोल्ने कुरा महत्त्वपूर्ण हुन्छ, मानिस बिरामी भएको ठाउँमा चिकित्सक पु¥याउन पनि गाह्रो छ’, उनले भने, ‘जसरी भएपनि अहिले सडक खुलाउने काम गर्नुस्, जनशक्ति र साधन थपेर भएपछि टीकाभैरबको पुल सञ्चालन ल्याउनुपर्छ ।’

    विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पौडेलले घर पूर्ण क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको बताए । उनले तथ्याङ्क उपलब्ध भएको तीन दिनभित्र रकम उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

    पूर्वअर्थराज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले विपद् क्षेत्र घोषणा भएका स्थानीय तहलाई सडक मर्मतमा ध्यान दिन आग्रह गरे । उनले धरापमा भएका घरहरुलाई मर्मतका लागि तत्कालै ध्यान दिन आग्रह समेत गरे ।

    ललितपुर क्षेत्र नं २ का सङ्घीय संसद प्रेमबहादुर महर्जनले भौतिक क्षतिको विवरण खोज्न मिहिन ढङ्गले लाग्नुपर्नेमा जोड दिए । उनले मानवीय संवेदना बुझेर काम गर्न राज्यले ध्यान दिनुपर्ने धारणा राखे । 

    बागमती प्रदेशका स्वास्थमन्त्री रामेश्वर श्रेष्ठले शुद्ध पिउने पानी र सञ्चार क्षेत्रमा ध्यान दिन आग्रह गरे । उनले राहत वितरणलाई प्रभावकारी बनाउन पनि जोड दिए ।

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाभित्र प्राकृतिक विपद्मा परी छ जनाको मृत्यु भएको जानकारी गराउँदै विपद् व्यवस्थापनमा आवश्यकता अनुसार प्रत्येक वडाले तत्कालै व्यवस्थापन गर्न सक्नेगरी बजेट व्यवस्थापन गरेको बताए ।

    गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पालिकाभित्र २० जनाको मानवीय क्षति, एक सय आठ वटा सरकारी संरचनामा क्षति र ५५ वटा खानेपानी योजनामा क्षति पुगेको जानकारी दिए । 

    उनले नल्लु र बासुकीको खानेपानी तत्कालै सञ्चालन गर्नुपर्ने भन्दै २७ वटा कल्भर्ट, तीन वटा पूल, २० वटा सडकखण्ड र दुई सय १६ घरमा क्षति पुगेको बताउनुभयो । उहाँले वटा नं. ७ देबिचौरमा हालसम्म विद्युत् र टेलिफोन सेवा पुग्न नसकेको जानकारी गराएका थिए ।

    महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठले  पालिकाभित्र सात जना मृत्युु भएको बताए । उनले वडा नं ९ मा खानेपानीको समस्या रहेको,  वडा नं. १० सम्म जाने सडक मर्मत भैरहेको र प्रभावित क्षेत्रमा लागत सङ्कलन भैरहेको जानकारी गराए । महालक्ष्मी नगरपालिकाका वडा नं. १, ५ र ७ बढि प्रभावित भएको उनले बताए ।

    कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले विपद्का कारण गाउँपालिकाभित्र खानेपानीको पाइपमा पूर्ण रुपमा क्षति भएकाले सञ्चार सम्बन्ध टुटेको जानकारी गराए । उनले पालिकाभित्र एक सय ५० घर पूर्ण रुपमा क्षति भएको, नल्लु र भारदेउका बस्ती बगरमा परिणत भएको बताए । दुई वटा सामुदायिक र एउटा निजी विद्यालयमा क्षति भएको बताउँदै उनले सबैभन्दा पहिलो बाटो सञ्चालनमा ल्याइ विद्युत् र सञ्चारलाई व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।

    प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले घरमै पुगेर राहत वितरणका काम गरिरहेको जानकारी दिँदै अस्थायी आवास निर्माणका लागि स्थानीय तहलाई जिम्मा दिन सक्ने बताए । उनले ललितपुरमा हालसम्म पनि छ जना बेपत्ता रहेको जानकारी गराएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend