कपिलवस्तु । कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको ज्यान गएको छ।
महाराजगन्ज नगरपालिका–२ स्थित गैंडहवा चोक नजिक बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको मदिरा लोड गरिएको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बिहान करिब ७:१५ बजे तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगन्ज नगरपालिका–३ निवासी ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका कारण केही समय घटनास्थल तनावग्रस्त बनेको थियो। स्थानीयको विरोधका कारण बिहान करिब १० बजेसम्म अवस्था तनावपूर्ण रहे पनि त्यसपछि सुरक्षा निकायको पहलमा स्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

