काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय तथा प्रदेशमा कार्यरत सचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहदरबारमा कार्यरत ४ सचिव सहित १ प्रदेश सचिवको सरुवा गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई भने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवमा खटाइएको छ।
यसअघि बागमती प्रदेश सरकारका प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार अधिकारी अनिवार्य अवकाश नजिक रहेकाले उनलाई अतिरिक्त समूहमा राखिएको हो।
अधिकारीको सरुवापछि बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी तत्कालका लागि वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ।
सरकारले प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ सचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

