काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज साँझ देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ।
यद्यपि, सम्बोधन हुने निश्चित समय भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीले साँझ देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम तय भए पनि त्यसको समयबारे औपचारिक जानकारी आउन बाँकी रहेको स्रोतले जनाएको छ।
यसअघि बिहीबार अपराह्न प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गर्नुभएको थियो। उक्त भेटपछि गृहमन्त्री गुरुङ सुनसरी प्रस्थान गर्दै छन्, जहाँ हालैको झडपमा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेटघाट तथा घटनास्थलको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको सम्बोधनमा समसामयिक राजनीतिक, सुरक्षा तथा राष्ट्रिय महत्वका विषय समेटिने अपेक्षा गरिएको छ। सचिवालयले सम्बोधनसम्बन्धी थप विवरण भने सार्वजनिक गरिसकेको छैन।

