२०८३, आश्विन २० गते

images
  • समाचार
  • निर्मल पुर्जाको निधनले नेपालको पर्वतारोहण क्षेत्रलाई...

निर्मल पुर्जाको निधनले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति: वायुसेवा सञ्चालक संघ

निर्मल पुर्जाको निधनले नेपालको पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति: वायुसेवा सञ्चालक संघ

शनिवार, श्रावण १६ २०८३०५:५७
शनिवार, श्रावण १६ २०८३०५:५७
  • images

    काठमाडौँ । पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित ६ नेपाली तथा चार विदेशी आरोहीको निधनप्रति वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) ले गहिरो दुःख व्यक्त गरेको छ।

    संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटनालाई नेपाली पर्वतारोहण इतिहासकै अत्यन्त दुःखद क्षणका रूपमा उल्लेख गर्दै दिवङ्गत सबै आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवार, इष्टमित्र, साथीभाइ तथा शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेको छ।

    विज्ञप्तिमा निर्मल पुर्जा (निम्स दाइ) केवल एक सफल पर्वतारोही मात्र नभई साहस, कठोर अनुशासन, अथक परिश्रम र उच्च मनोबलका प्रतीक रहेको उल्लेख गरिएको छ। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मात्र ६ महिना ६ दिनको ऐतिहासिक अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको संघले स्मरण गरेको छ।

    संघका अनुसार निर्मल पुर्जाले नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याएका थिए। असाधारण सैन्य योगदानका लागि सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयबाट ‘एमबीई’ (Member of the Order of the British Empire) सम्मान प्राप्त गरेका उनी बेलायतको ‘Pride of Britain’ लगायत प्रतिष्ठित सम्मानबाट पनि सम्मानित भएका थिए।

    वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्मल पुर्जाको निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको उल्लेख गर्दै उनको योगदान र प्रेरणादायी जीवन सदैव स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ। साथै दिवङ्गत आरोहीहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवान् पशुपतिनाथसँग प्रार्थना गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend