२०८३, आश्विन २० गते

images
  • समाचार
  • पहिरो र बाढीले देशभरका प्रमुख राजमार्ग...

पहिरो र बाढीले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण अवरुद्ध

पहिरो र बाढीले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण अवरुद्ध

आइतवार, श्रावण १७ २०८३०७:१६
आइतवार, श्रावण १७ २०८३०७:१६
  • images

    काठमाडौँ । विरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । 

    नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

    काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    इलाम नगरपालिका–९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । 

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ । 

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के¬–बेनीघाट कच्ची सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend