२०८३, आश्विन २० गते

images
  • समाचार
  • पोखरामा ग्यास अभावः सञ्चित नगर्न बिक्रेतालाई...

पोखरामा ग्यास अभावः सञ्चित नगर्न बिक्रेतालाई प्रशासनको कडा निर्देशन, कालोबजारी रोक्न अनुगमन तीव्र

पोखरामा ग्यास अभावः सञ्चित नगर्न बिक्रेतालाई प्रशासनको कडा निर्देशन, कालोबजारी रोक्न अनुगमन तीव्र

मंगलवार, श्रावण १९ २०८३०९:५३
मंगलवार, श्रावण १९ २०८३०९:५३
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ । 

    कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ । 

    पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उनले बताए । “प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आजभोलिसम्ममा तीनवटा बुलेट पोखरामा भित्रदैछन्”, सहायक प्रजिअ बरालले भने,“अहिले देखिएको समस्या विस्तारै सहज हुँदैछ, उपभोक्तालाई पनि आश्वस्त हुन आग्रह छ ।”

    केही दिनअघि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सरोकार भएका पक्षबीचको बैठकले ग्यासको आपूर्ति, बिक्री र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । ग्यास उद्योग तथा बिक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अद्यावधिक गर्न अनुरोध गरिएको उनले बताए । 

    यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ । बिक्रेता र उपभोक्तालाई अनावश्यक रुपमा ग्यास सञ्चित नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा कालोबजारी नगर्न सचेत गराइएको कार्यालयले जनाएको छ । 

    ग्यास उद्योगलाई पनि बिक्रेतामार्फत सही रुपमा ग्यासको वितरण भए÷नभएको नियमित अनुगमन गर्न आग्रह गरिएको सहायक प्रजिअ बरालले बताए ।  बजार अनुगमनमा सहयोग गर्न र कुनै अनियमितता देखिएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सम्बद्ध सबै पक्षमा अनुरोध गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend