काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने उक्त छलफलमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, वित्तीय क्षेत्रको वर्तमान अवस्था तथा बैंकिङ प्रणालीले खेल्नुपर्ने भूमिकाबारे विस्तृत समीक्षा गरिने मन्त्रालय स्रोतले जनाएको छ।
छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ। बैठकमा बैंकिङ क्षेत्रका विद्यमान चुनौती, निजी क्षेत्रमा कर्जा प्रवाह, लगानीको वातावरण, तरलता व्यवस्थापन, ब्याजदरको अवस्था तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा पनि विचार–विमर्श हुने अपेक्षा गरिएको छ।
सरकारले बजेटमार्फत घोषणा गरेका सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकिङ क्षेत्रको सक्रिय सहकार्य आवश्यक रहेको निष्कर्षका साथ अर्थमन्त्री वाग्लेले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्।
यस छलफललाई सरकारले अघि सारेका आर्थिक सुधारका कार्यक्रमलाई व्यवहारमा उतार्ने दिशामा वित्तीय क्षेत्रसँगको समन्वय सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

