काठमाडौँ । एल.पी. ग्यास उद्योग संघ नेपालले एलपी ग्यासको बजारलाई सहज र व्यवस्थित बनाउन उपभोक्तालाई अनावश्यक रूपमा भरिएका ग्यास सिलिन्डर मौज्दात नगर्न आग्रह गरेको छ।
संघले सोमबार जारी गरेको सार्वजनिक अपिलमा विगतमा अन्तर्राष्ट्रिय परिस्थितिका कारण एलपी ग्यास आयात प्रभावित हुँदा उपभोक्ताको सहजताका लागि आधा सिलिन्डर (७.१ केजी) ग्यास उपलब्ध गराइएको स्मरण गराउँदै अहिले भने आयात नियमित भइसकेकाले साविकअनुसार १४.२ केजीका भरिएका सिलिन्डरको प्रयोग गर्न आग्रह गरेको छ।
संघका अनुसार अन्तर्राष्ट्रिय अवस्था सामान्य बनेसँगै ग्यास आयात नियमित भइरहेको छ। तर, पछिल्लो करिब छ महिनायता बजारमा मासिक खपतभन्दा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएका कारण केही स्थानमा आपूर्तिमा असहजता देखिएको जनाएको छ।
संघले बजारमा देखिएको अभावको मुख्य कारण उपभोक्ताले आवश्यकताभन्दा बढी समयसम्म अतिरिक्त भरिएका सिलिन्डर घरमै मौज्दात राख्नु रहेको उल्लेख गरेको छ। यसले बजारमा कृत्रिम अभाव सिर्जना हुनुका साथै नयाँ उपभोक्ताले समयमै ग्यास नपाउने अवस्था बनेको संघको भनाइ छ।
यस्तो अवस्थाको समाधानका लागि नेपाल आयल निगम, ग्यास उद्योग, वितरक र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको संघले जनाएको छ। एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न र उपलब्ध ग्यास नयाँ तथा आवश्यक उपभोक्तालाई प्राथमिकताका साथ वितरण गर्न सहयोग गर्न आग्रह गरिएको छ।
संघले उद्योगी तथा विक्रेतालाई पनि वितरण प्रणाली पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन निर्देशनात्मक आग्रह गरेको छ। साथै, बजारको मागअनुसार आवश्यक परिमाणमा ग्यास आयात बढाउने प्रतिबद्धता व्यक्त गर्दै केही समयमै आपूर्ति अवस्था सामान्य हुने विश्वास दिलाएको छ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सबै पक्ष जिम्मेवार र संयमित बनेमा बजारमा देखिएको असहजता चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्दै उपभोक्तालाई अनावश्यक मौज्दात नगरी ग्यासको सहज वितरणमा सहयोग गर्न अपिल गरेका छन्।

