काठमाडौँ। सर्वसाधारणको सहकारीमा बचत गरिएको रकम गोर्खा मिडिया नेटवर्कमा आएपछि अपचलन गरेकाे भन्दै संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि सफारिस गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे फाइल प्रहरीले अघि बढाउने तयारी गरेको छ ।
साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले उनकाे फाइल अगाडि बढाउने निर्णय गरेकाे हाे। यसमा प्रहरीले सबै तयारी गरेको जनाएको छ ।
'रवि लामिछानेको फाइल अघि बढ्दै छ,' बालुवाटार र नक्साल निकट स्रोतले भन्यो, 'जतिसम्म उहाँ दोषी देखिनुहुन्छ, सोही अनुरुप कारबाही हुन्छ ।'
असोजको पहिलो हप्ता नै लामिछानेलाई पक्राउ गर्ने प्रहरीले तयारी गरेको थियो । तर, चौतर्फी दबाब र प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकाले सरकार पछि हटेको थियो ।
तर, अब प्रधानमन्त्री पनि स्वदेश फर्किएको र आन्दोलन, हुलदंगा नहुने देखेपछी प्रहरीले फेरि उनको फाइल अघि बढाउन खोजेको स्रोतले जानकारी दियो ।
उनलाई फुलपाती भित्र पक्राउ गर्न सक्ने सम्भावना छ, यद्यपि प्रहरीको कुनैपनी निकायले यसलाई बाहिर लैजान दिएका छैनन् ।
रविका व्यवसायीक साझेदार, गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई असाेज ६ गते पक्राउ गरिएको थियाे। जोशीलाई जरुरी पक्राउ पुर्जी थमाउँदै प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई जस्तै रविलाई पनि जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न सकिने नेपाल प्रहरीका अधिकृतहरूले बताएका छन् ।

