२०८३, आश्विन २१ गते

images

आजदेखि बीपी राजमार्गमा गाडी चल्ने

आजदेखि बीपी राजमार्गमा गाडी चल्ने

शुक्रवार, आश्विन २५ २०८१०८:३२
शुक्रवार, आश्विन २५ २०८१०८:३२
  • images

    काठमाडौं । अवरुद्ध बीपी राजमार्ग आज (शुक्रबार) सञ्चालनमा आउने भएको छ । गत असोज १० देखि  १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढी–पहिरोले काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध बनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत बीपी राजमार्ग आज ( शुक्रबार) देखि सञ्चालनमा आउने जानकारी समेत गराएका छन् ।

    आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका छन् । अवरुद्ध राजमार्ग खुलाउन रातदिन र चाडपर्व नभनी काम गरिएको उनले बताएका छन् । यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । उनका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्नेछ । देशका अरू ठाउँमा सडक खुलाएपछि सबैजसो मेशिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताएका छन् ।

    केही मेशिन भाडामा पनि लिएर काम भएको छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बिपी राजमार्ग निकै महत्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिए ।

    यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–६ र रोसी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोसीखोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ । रोसी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी अस्थायी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । त्यस क्षेत्रमा रोसी खोलादेखि २० देखि ५० मिटरसम्म उचाइमा रहेको सडकसमेत बगाएको थियो । 

    १६० किमिमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पु¥याएको कार्यालयले जनाएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गर्दा प्रति किमि  ३५ करोड खर्च गरेको थियो । निर्माण पूरा गरेर जाइकाले २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई यो राजमार्ग हस्तान्तरण गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend