२०८३, कार्तिक १२ गते

नेपालमा विदेशी मुद्रा ल्याउँदा र लैजाँदा नयाँ नियम, यस्तो छ सरकारी व्यवस्था

नेपालमा विदेशी मुद्रा ल्याउँदा र लैजाँदा नयाँ नियम, यस्तो छ सरकारी व्यवस्था

images
बुधवार, कार्तिक १२ २०८३०७:२७
बुधवार, कार्तिक १२ २०८३०७:२७
  • images

    काठमाडौँ । नेपाली रुपैयाँ, भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा नेपाल भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धमा सरकारले लागू गरेको व्यवस्थाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत जानकारी सार्वजनिक गरेको छ।

    विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपाली तथा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन्। सोभन्दा बढी रकम ल्याउनुपरेमा भने भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ।

    भारतीय रुपैयाँ ल्याउँदा र लैजाँदा के छ व्यवस्था?

    नेपाली वा भारतीय नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको भारतीय रुपैयाँसम्म भन्सार घोषणा नगरी नेपाल ल्याउन सक्नेछन्। सोभन्दा बढी रकम ल्याउँदा भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था छ।

    भारतीय नागरिकले नेपालबाट भारत फर्कंदा प्रतिव्यक्ति अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी नगद लैजान पाउने छैनन्। तर, नेपाल प्रवेश गर्दा भन्सारमा स्वघोषणा गरी ल्याएको रकम भने सोही घोषणाको आधारमा फिर्ता लैजान सक्नेछन्।

    भारतीय रुपैयाँका नोटको हकमा भारु ५ सय र १ हजार दरका पुराना नोटको कारोबार तथा ओसारपसारमा प्रतिबन्ध छ। त्यस्तै, भारतमा हाल चलनचल्तीमा रहेका भारु २ हजार दरका नोट पनि नेपालमा राख्न, ओसारपसार गर्न तथा कारोबार गर्न पाइने छैन।

    तर, सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २ सय र ५ सय दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम भारु २५ हजारसम्म ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्। भारु १ सय र सोभन्दा कम दरका नोट भने प्रचलित व्यवस्थाअनुसार जुनसुकै परिमाणमा ल्याउन, लैजान तथा सटही गर्न पाइनेछ।

    नेपाली नागरिकले भारतीय रुपैयाँ भारतबाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन भने पाउने छैनन्।

    विदेशी मुद्रा ल्याउँदा र लैजाँदा कति सीमा?

    नेपाली तथा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल ल्याउन सक्नेछन्। यो सीमाभन्दा बढी रकम ल्याउँदा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ।

    विदेशी नागरिकले नेपालबाट विदेश जाँदा प्रतिव्यक्ति अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी नगद लैजान पाउने छैनन्। यद्यपि, नेपाल प्रवेश गर्दा भन्सारमा स्वघोषणा गरी ल्याएको रकम भने घोषणाअनुसार फिर्ता लैजान सक्ने व्यवस्था छ।

    विदेश भ्रमणमा जाने नेपालीले कति डलर सटही गर्न पाउँछन्?

    भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानी सुविधाअन्तर्गत प्रतिपटक अधिकतम अमेरिकी डलर ३ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा सटही गर्न पाउनेछन्।

    वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि भने गन्तव्य मुलुकअनुसार विदेशी मुद्रा सटहीको सीमा निर्धारण गरिएको छ। जापान, दक्षिण कोरिया, युरोपेली मुलुक, अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने नेपालीले अधिकतम अमेरिकी डलर ५ सयसम्म सटही गर्न पाउनेछन्।

    अन्य मुलुकमा वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकले भने अधिकतम अमेरिकी डलर २ सयसम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, नेपाल सरकारले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) का आधारमा विदेश भ्रमणमा जाने नेपाली नागरिकले अमेरिकी डलर १ हजारसम्म सटही सुविधा पाउने व्यवस्था छ।

    नेपाली रुपैयाँ ५ हजारभन्दा बढी लैजान नपाइने

    नेपालबाट विदेश जाँदा वा विदेशबाट नेपाल आउँदा नेपाली तथा विदेशी नागरिकले प्रतिव्यक्ति नेपाली रुपैयाँ ५ हजारभन्दा बढी नगद ल्याउन वा लैजान पाउने छैनन्।

    विभागले सार्वजनिक गरेको व्यवस्थाअनुसार विदेश भ्रमणमा जाने, वैदेशिक रोजगारीका लागि विदेश जाने तथा नेपाल आउने विदेशी नागरिकले नगद बोकेर यात्रा गर्दा तोकिएको सीमाको पालना गर्नुपर्नेछ। विदेशी मुद्रा तथा नेपाली र भारतीय रुपैयाँको ओसारपसारलाई व्यवस्थित गर्नुका साथै गैरकानुनी कारोबार नियन्त्रण गर्ने उद्देश्यले यी व्यवस्था लागू गरिएका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend