२०८३, कार्तिक २३ गते

  • राजनीति
  • गगन थापामाथि प्रहरी निगरानी बढेको कांग्रेसको...

गगन थापामाथि प्रहरी निगरानी बढेको कांग्रेसको दाबी, पक्राउ गर्ने तयारी भइरहेको आशंका

गगन थापामाथि प्रहरी निगरानी बढेको कांग्रेसको दाबी, पक्राउ गर्ने तयारी भइरहेको आशंका

images
बिहिवार, कार्तिक १९ २०८३१०:०२
बिहिवार, कार्तिक १९ २०८३१०:०२
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि सरकारले प्रहरी निगरानी बढाएको कांग्रेस नेताहरूले दाबी गरेका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनसँगै थापालाई पक्राउ गर्ने तयारी भइरहेको आशंकासमेत कांग्रेस नेताहरूले व्यक्त गरेका छन्।

    सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि थापामाथिको निगरानी थप बढेको उनको सचिवालयको भनाइ छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका कदमको कडा आलोचना गर्दै आएका थापामाथि प्रहरीले निगरानी गरिरहेको कांग्रेसको दाबी छ।

    प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा दिएको भनिएको बयान प्रधानमन्त्रीको सचिवालयको योजनामा सार्वजनिक गरिएको आरोप कांग्रेसले लगाउँदै आएको छ। यही विषयलाई लिएर कांग्रेस सरकारविरुद्ध थप आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।

    कांग्रेस सभापति थापाको सचिवालयका अनुसार कात्तिक १५ गते प्रधानमन्त्री शाह सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि उनीमाथि प्रहरी निगरानी बढाइएको हो।

    प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै केही व्यक्तिलाई उम्किन नदिने चेतावनी दिएका थिए। उनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

    त्यसको जवाफमा थापाले सोमबार साँझ सामाजिक सञ्जालमार्फत लेखेका थिए, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

    थापाको सचिवालयका सदस्यहरूका अनुसार न्यौपाने थरका एक डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले केही दिनदेखि उनको गतिविधि निगरानी गरिरहेको छ। घर, सम्पर्क कार्यालय, पार्टी कार्यालय तथा उनी नियमित भेटघाट गर्ने स्थानमा समेत प्रहरीको निगरानी रहेको उनीहरूको दाबी छ।

    सचिवालयका एक सदस्यले बुधबार साँझ नेपालखबरसँग कुरा गर्दै पछिल्लो चार–पाँच दिनदेखि प्रहरी टोलीले थापालाई पछ्याइरहेको र आईजीपी परिवर्तनपछि निगरानी थप बढेको बताएका थिए।

    उनका अनुसार मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदासमेत थापामाथि प्रहरी निगरानी थियो।

    यसैबीच, सुरक्षा निकायका एक उच्च अधिकारीले पनि प्रधानमन्त्री शाहको सचिवालयमा कांग्रेस सभापति थापालाई पक्राउ गर्ने विषयमा छलफल भइरहेको जानकारी आफूले पाएको बताएका छन्।

    ती अधिकारीका अनुसार आईजीपी परिवर्तनपछि आगामी केही दिनभित्र केही व्यक्तिलाई पक्राउ गर्ने तयारी सरकारको हुन सक्ने देखिएको छ। तिहारअघि नै केही नेताहरूलाई पक्राउ गर्ने योजनाअनुसार कार्कीलाई हटाइएको हुन सक्ने उनको दाबी छ।

    सुरक्षा स्रोतका अनुसार इनम सापकोटाको बयानबारे सोधपुछ गर्ने बहानामा थापालाई केही दिन प्रहरी हिरासतमा राख्ने विषयमा समेत प्रारम्भिक छलफल भएको आशंका गरिएको छ।

    थापानिकट कांग्रेसका एक नेताले मंगलबार साँझ नै उनलाई पक्राउ गर्ने तयारी भएको सूचना आफूहरूले पाएको बताएका छन्। प्रधानमन्त्रीको सचिवालयमा सहमति नजुट्दा त्यस दिन पक्राउ नगरिएको जानकारी प्राप्त भएको उनको भनाइ छ।

    सरकारले जुनसुकै बेला पक्राउ गर्न सक्ने आशंका बढेपछि थापाले पार्टीभित्र आन्तरिक छलफल र परामर्श तीव्र बनाएका छन्। उनले बुधबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् भने बिहीबारका लागि पदाधिकारी बैठक बोलाएका छन्।

    कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन्। कांग्रेसले पार्टीको आधिकारिकतासम्बन्धी आरोपबारे स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिन गर्न माग गरेको छ।

    छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्‍याउन कांग्रेसले उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।

    आङ्देम्बेले मंगलबार विपक्षी दलहरूसँग छलफल गरेका थिए। छलफलमा सहभागी विपक्षी दलहरूले सरकारका लोकतन्त्रविरोधी कदमविरुद्ध संसद्मा एकमत भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन्।

    यता उपसभापति भुसालले पनि पार्टी र नेतृत्वविरुद्ध सरकारबाट षड्यन्त्र भइरहेको आरोप लगाउँदै कानुनी परामर्श अघि बढाएकी छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend