२०८३, कार्तिक २३ गते

  • राजनीति
  • आईजीपी प्रकरणले रास्वपामा विवाद चर्कियो, रवि...

आईजीपी प्रकरणले रास्वपामा विवाद चर्कियो, रवि र बालेनबीच खटपटको संकेत

आईजीपी प्रकरणले रास्वपामा विवाद चर्कियो, रवि र बालेनबीच खटपटको संकेत

images
शुक्रवार, कार्तिक २० २०८३०८:२४
शुक्रवार, कार्तिक २० २०८३०८:२४
  • images

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच मतभेद सतहमा आएको छ। दुवै नेताका पछिल्ला सार्वजनिक अभिव्यक्तिले सरकार र सत्तारुढ दलबीच खटपट सुरु भएको संकेत गरेका छन्।

    बुधबार सरकारले आईजीपी कार्कीलाई हटाउने निर्णय गरेपछि रास्वपा सभापति लामिछानेले त्यसको औचित्यमाथि प्रश्न उठाएका थिए। बिहीबार चितवन पुगेका उनले सुरक्षा निकायको नेतृत्व परिवर्तन संवेदनशील विषय भएकाले सरकारले निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताएका थिए।

    ‘सुरक्षा निकायसँग रहेको यो जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय भएकाले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला,’ लामिछानेले भनेका थिए।

    उनले सरकारका सबै निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने बाध्यता नरहेको स्पष्ट पार्दै रास्वपाले आवश्यकताअनुसार सरकारलाई प्रश्न गर्ने, फरक धारणा बनाउने र निर्देशनसमेत दिन सक्ने बताएका थिए।

    लामिछानेको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ दिएका छन्। उनले आफू नेतृत्वको सरकार अहिले पार्टीभन्दा देश जोगाउने अभियानमा केन्द्रित रहेको आशय व्यक्त गर्दै पार्टीभित्रको असन्तुष्टिप्रति व्यंग्य गरेका छन्।

    ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्,’ शाहले लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’

    प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लामिछानेको टिप्पणीप्रतिको जवाफका रूपमा हेरिएको छ। यसअघि पनि शाहले ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने’ भन्दै सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका थिए।

    त्यस्तै, प्रधानमन्त्रीले आईजीपी परिवर्तनको निर्णय पार्टीसँगको छलफलबिनै गरेको भन्दै रास्वपाका प्रवक्ता जगदीश खरेलसहित अन्य नेताहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन्।

    आईजीपी नियुक्ति तथा नेतृत्व परिवर्तनको विषयमा सुरु भएको विवादले सरकार र सत्तारुढ दलबीचको सम्बन्धमा दरार आएको संकेत गरेको छ। अब यो मतभेद सार्वजनिक अभिव्यक्तिमै सीमित रहन्छ वा सत्ता सञ्चालन र पार्टीको आन्तरिक सम्बन्धमा थप प्रभाव पार्छ भन्ने चासो बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend