काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्।
लक्ष्मी मोटरहबमार्फत नेपालमा प्रतिनिधित्व गरिएका यी दुई ब्रान्डको नयाँ शोरुमको औपचारिक उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरेका हुन्।
नयाँ शोरुम सञ्चालनमा आएसँगै पोखरा तथा आसपासका क्षेत्रका ग्राहकले BAIC र ARCFOX का विभिन्न सवारीसाधन, तिनका विशेषता, प्रविधि तथा बिक्रीपछिका सेवाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्।
इन्जिनियरिङ, कार्यक्षमता र बहुउपयोगिताका लागि परिचित BAIC तथा विद्युतीय मोबिलिटी, आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिमा केन्द्रित ARCFOX ले शोरुममार्फत ग्राहकलाई फरक–फरक अटोमोबाइल अनुभव उपलब्ध गराउने कम्पनीले जनाएको छ।
यस शोरुमले गण्डकी प्रदेशमा यी ब्रान्डका सवारीसाधनप्रतिको पहुँच विस्तार गर्नुका साथै क्षेत्रीय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं बाहिरका प्रमुख बजारमा सेवा तथा बिक्री सञ्जाल विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

