काठमाडौँ । अनुमति बिना जापान भ्रमणमा गएको भन्दै विवादमा परेपछि कोशी प्रदेशका कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको बताएका हुन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारी बिना अनुमति र बिना जानकारी जापान गएका थिए । अनुमति बिना विदेश गएको भन्दै पछिल्लो केही दिन यता उनी विवादमा तानिएका थिए ।
विवादमा तानिनएपछि उनले मुख्य मन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका हुन ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।
उनी जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै गत कार्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको श्रोतले जनाएको छ ।

