काठमाडौँ । मोरङ जिल्ला अदालतले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अंजला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
मोरङको धनपालथान ४ मा रहेको उमागौरी सहकारी संस्थाको रकम अनियमितता गरेको उनीमाथि आरोप लागेको छ ।
गत मंसिर २७ गते सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनी विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेको थियो ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन्।

