काठमाडौँ । इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच विवादका कारण शुक्रबारदेखि सेवा प्रवाह रोकिएको छ ।
शुक्रबार उपमहानगरपालिकाका उपप्रमुख संगीता कुमारी चौधरीसहित केही वडाअध्यक्षले प्रशासन शाखामा तालाबन्दी गरेका थिए । शुक्रबार उपमेयरको नेतृृत्वमा प्रशासन शाखामा तालाबन्दी भएपछि कर्मचारीले असुरक्षा भएको भन्दै आइतबार तालाबन्दी गरेका हुन् ।
उपप्रमुखले तालाबन्दी गरेपछि त्यसको प्रतिकार गर्दै सुरक्षाको माग गर्दै आइतबार कर्मचारीहरुले विरोध गरेको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए । उनले मेयर, उपमेयर सहित कर्मचारीहरुसँग छलफल भैरहेको बताए ।
‘अहिले हामी सबै छलफलमै छौँ । कर्मचारी साथीहरुले सुरक्षाको प्रतिभूति नभएसम्म काम नगर्ने भन्नुभएको छ, विस्तारै समस्याको समाधान हुन्छ भन्ने हाम्रो अपेक्षा छ’, उनले भने ।
आइतबार समयमै कर्मचारीहरु कार्यालय पुगेतापनि सेवा प्रवाहको काम भने हुन सकेको छैन् । कर्मचारीहरु अहिले कार्यालय परिसरमा घाम ताप्दै बसिरहेका छन् ।
उपमेयर चौधरी र प्रशासन साखाका प्रमुख सञ्जीव खड्कासँग भएको विवादका कारण शुक्रबारदेखि उपमहानगरपालिकाको सेवा प्रवाह रोकिएको छ ।

