काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरेका छन् । आइतबार कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले सो आग्रह गरेका हुन् ।
‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ,’ मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला ।’ मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरूको निःशुल्क उपचारका लागि निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
माघ २४ गते काठमाडौँ– २८ कमलपोखरीस्थित शानदार मः म सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट हुँदा परेका ११ जना घाइते भएका थिए । उनीहरूको अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीहरूका गुनासा सुनेका छन् ।

