२०८३, आश्विन २२ गते

images

चोरीको मोबाइल लिन दुई समूहबीच झडप, चाबहिल कुमारीगालमा युवकले गुमाए ज्यान

चोरीको मोबाइल लिन दुई समूहबीच झडप, चाबहिल कुमारीगालमा युवकले गुमाए ज्यान

मंगलवार, माघ २९ २०८१०५:०४
मंगलवार, माघ २९ २०८१०५:०४
  • images

    काठमाडौं । चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलको कुमारीगालमा एक युवकले ज्यान गुमाएको खुलेको छ ।

    गत आइतबार बिहानै झिसमिसेमा दुई समूहबीचको झडप हुँदा २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) अपिलराज बोहोराका अनुसार एउटा सानो मोबाइलको विषयमा झगडा हुँदा २३ वर्षीय युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

    ‘एउटा समूहले मोबाइल चोर्छ कुनै व्यक्तिको । मोबाइल चोरेको अर्को पक्षले देख्छ’ घटनाबारे जानकारी गराउँदै एसपी बोहोराले भने, ‘त्यो मोबाइल समाउनका लागि अर्को पक्ष जाँदा भएको झगडामा ती व्यक्तिको ज्यान गएको छ ।’

    झडपपछि तत्कालै पुगेको प्रहरीको टोलीले घाइते भएका कार्कीलाई काठमाडौं शिक्षण अस्पताल (केएमसी) लगेको थियो । त्यहाँ चिकित्सकले कार्कीलाई मृत घोषणा गरेका थिए ।

    ‘यो घटनालाई हामीले समाजको बिम्बको रुपमा पनि लिएका छौं’, एसपी बोहोराले भने । झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युनिक लामा भनिने नुर्वु शेर्पा, १९ वर्षीय क्षितिज कार्की र २० वर्षीय विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।

    शेर्पाविरुद्ध पाँच र तामाङ विरुद्ध दुईपटक यसअघि पनि प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको मुद्दा चलाइएको एसपी बोहोराले जानकारी दिए ।

    उनका अनुसार सोही घटनाका अर्का एक जना भने फरार छन् । फरार रहेका व्यक्तिको ट्रयाकिङ भइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend