काठमाडौँ । बेलबारी नगरपालिकाका मेयरले प्रशासन शाखा प्रमुखको जिम्मेवारी खोसेका छन् । उनले कार्यपालिकाको गोपनियता भंग गरेको भन्दै पालिकामा आठौँ तहमा कार्यरत अधिकृत महेन्द्र खड्काको जिम्मोवारी खोसेका हुन् ।
उनले २८ माघको कार्यपालिकाको बैठकले गरेको निर्णयमा कार्यपालिकाको गोपनियता भंग गरेको र कार्यालयको हित विपरीत काम गरेको भन्दै जिम्मेवारी खोसेका हुन् ।
कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘बेलबारी नगरपालिकाको कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृतस्तर आठौं तहका कर्मचारी महेन्द्र खड्काबाट कार्यपालिकाको गोपनियता भंग गर्ने, कार्यलयको हित विपरित काम कारबाही गर्ने लगायत पदीय मर्यादा विपरित काम कारवाही गरेको पाइएको हुँदा निजलाई हालको जिम्मेबारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।’
नगरपालिका स्रोतका अनुसार बेलबारी नगरपालिका ७ मा व्यक्तिको जग्गामा सरकारी बजेटमा घाट निर्माण भइरहेको छ । १ करोड ११ लाखमा ठेक्का लागेको घाटाको निर्माण जारी छ ।
व्यक्तिको जग्गामा सरकारी बजेट खर्च भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यो उजुरी खड्काले गरेको आरोप छ । खड्काले भने आरोप अस्वीकार गर्दै आएका छन् ।
उपमेयर नितु थापा कोइरालाले अधिकृत खड्कालाई आफ्ना कुरा राख्ने मौका नदिइ जिम्मेवारीबाट हटाउनु गलत भएको बताइन् । खड्कामाथि भएको कारवाही गैरकानुनी भएको उनले बताइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले नगरपालिकाको हित विपरीत काम गरेका कारण कार्यपालिकाले जिम्मेवारीबाट हटाउने निर्णय गरेको बताए ।

