काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको काम तत्काल अघि बढ्ने सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव र प्रधानसेनापतिसहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिन, सेनाको फुटवल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति भएको हो ।
बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाँती रहेको र सुल्झाउन आग्रह गरेका थिए । सो क्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए ।
२०७८ माघमा विमानस्थल पुनर्निर्माणका लागि ठेक्का भएको थियो भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रन्वे कालोपत्रे हुने चरणमा पुगिसकेको छ । विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो । शुक्रबारको बैठकमा सम्वद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रन्वे निर्माणको काम तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री लेखकले जानकारी दिए ।

