काठमाडौँ । कार्यपालिका बैठकमै वडाअध्यक्षले कर्मचारीमाथि हातपात गरेको पाइएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका हुन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेको कर्मचारीहरुले बताएका छन् ।
उक्त घटनापछि कर्मचारीहरु आन्दोलित बनेका छन् । कर्मचारीले सोमबार एक विज्ञप्ती जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१/११/५ गते दिउँसो १२ः१५ बजे यस रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागिता जनाउनुभएको हो । निज वडाअध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरुलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’
कर्मचारीले वडाअध्यक्ष खानले बारम्बारर कर्मचारीहरुलाई गालीगलाज गर्ने तथा विभिन्न शाखामा तालाबन्दी गर्ने गरेको आरोप समेत लगाएका छन् ।

