काठमाडौँ । पछिल्लो समय नेपाली अटो बजारमा चिनियाँ विद्युतीय गाडीको दबदबा बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अुनसार ८० प्रतिशतभन्दा बढी चिनियाँ गाडीहरु नेपाल भित्रने गरेको पाइएको हो ।
विभागले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांक अनुसार नेपालमा पौने १५ अर्बको विद्युतीय सवारी (ईभी) आयात भएको छ । चालु आवको माघ मसान्तसम्म १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६ हजार २५६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागले जनाएको हो ।
उक्त मूल्य बराबरको गाडी आयातबाट सरकारले ९ अर्ब ८ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा विशेषगरी ५ देशबाट ईभी आयात भएको छ । चिन, भारत, अमेरिका, जर्मन र दक्षिण कोरियाबाट ईभी आयात भएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै आयात चिनबाट भएको तथ्यांकले देखाउँछ ।
कुन देशबाट कति आयात ?
रकमका आधारमा कुल ईभी आयातको ८० प्रतिशत हिस्सा चाईनाले ओगटेको छ । अर्थात् चाईनाबाट ११ अर्ब ८७ करोडका ईभी आयात भएको छ । आयातित ईभीको संख्याको आधारमा चाईनाको हिस्सा ७६ प्रतिशत रहेको तथ्यांकले देखाउँछ । चीनबाट ४ हजार ७ सय ६९ वटा ईभी आयात भएको हो ।
५० किलोवाट सम्मका १ हजार २६८ वटा, ५१ देखि १०० किलोवाट सम्मका २ हजार ९२२ वटा, १०१ देखि २०० किलोवाट सम्मका ५७० वटा, २०१ देखि ३०० किलोवाट सम्मका ७ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएका २ वटा ईभी चिनबाट आयात भएको छ ।
यसैगरी, भारतबाट २ अर्ब ६९ करोड रुपैयाँको १ हजार ४५९ वटा ईभी आयात भएको छ भने जर्मनबाट १४ करोड रुपैयाँको १० वटा ईभी आयात भएको छ । अमेरिकाबाट २ करोड १४ लाख रुपैयाँ बढीको ५ वटा ईभी आयात हुँदा दक्षिण कोरियाबाट २ करोड रुपैयाँ बढीको ३ वटा ईभी आयात भएको छ ।
७ महिनाको अवधिमा नेपालमा ५१ देखि १०० किलोवाटका ईभी सबैभन्दा धेरै भित्रिएका छन् । ५१ देखि १०० किलोवाटका ३ हजार ४ सय ९१ वटा ईभी भित्रिएका हुन् ।
त्यसैगरी, ५० किलोवाटसम्मका २ हजार १५९ वटा, १०१ देखि २०० किलोवाटका ५९० वटा, २०१ देखि ३०० किलोवाटका ११ र ३०० किलोवाट भन्दा धेरै क्षमता भएका २ वटा ईभी नेपाल भित्रिएको विभागले जनाएको छ ।

