काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१ कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२ महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३ तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४ जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५ बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६ सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७ महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८ तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९ तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

