काठमाडौँ । मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्पले क्षतिग्रस्त म्यानमार प्रस्थान गरेको छ ।
म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली बुधबा त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कूल २२ सदस्यीय टोली नेपाली सेनाको सीएन(२३५ सीएएसए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।
विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिनेछ ।

